२०८१ भाद्र ३१, सोमबार
महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर प्रमुख (मेयर) पदम बोगटी र उपप्रमुख (उपमेयर) निलम लेखकले छाडा पशुचौपाया व्यवस्थापनका लागि भन्दै केही महिनाअघि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गएर खर काट्ने काम गरे । मेयर–उपमेयर नै गएर खर काटेपछि त्यो फोटो उतिबेलै भाइरल भयो ।
काम देखाउने नाममा खर काटेका मेयर–उपमेयरको काम सफल भएन । जसले गर्दा फेरि छाडा पशुचौपाया समस्या ब्यूतिएको छ । यसअघि पनि नगरवासीले छाडा पशुचौपाया संकलन गरेर नगरपालिका कार्यालयमा ल्याएपछि छिट्टै व्यवस्थापन गर्ने आश्वासन दिइएको थियो ।
मंगलबार फेरि भीमदत्त नगरपालिका–१६ वसन्तपुर र मझगाउँका स्थानीय महिलाले छाडा पशुचौपाया महेन्द्रनगर बजार क्षेत्रमा ल्याइएका छन् । नाम नखुलाउने शर्तमा एक महिलाले भनिन्, ‘मेयर–उपमेयरले नौटंकी गरिरहेका छन् तर समस्या हामीलाई भएको छ । गहुँ हरियो हुने बेलामा छाडा चौपायाले खेतीपाती सखाप पारेको छ, मेयर–उपमेयरले व्यवस्थापन गर्छु मात्रै भन्छन्, काम गर्दैनन् ।’
मंगलबार महिलाहरूले छाडा पशुचौपायालाई नगरपालिका कार्यालयभित्र हुल्न खोजे पनि नगरपालिकाले रोकेको छ । वसन्तपुरबाट ल्याइएका अन्दाजी ३०० भन्दा बढी पशुचौपाया यतिबेला नगरपालिका अगाडिको सडक र खाली ठाउँमा छन् । ती महिलाले भनिन्, ‘यी मेयर–उपमेयरलाई भोट दिएर यहीँ दिन देख्नुपर्यो ।’
पशुचौपाया व्यवस्थापनबारे उपमेयर लेखकले ठाउँ नपाउँदा ढिलाइ भएको प्रतिक्रिया दिइन् । ‘प्रोसेस चलिरहेको छ, प्रयास गरिरहेका छौं, जमिन नपाएर गाह्रो भइरहेको छ,’ उनले भनिन्, ‘यो जनताको आक्रोश स्वाभाविक हो । आरक्षको जमिनले रोकिदियो, हामी लागिरहेका छौं । हुन्छ । अलि ढिलो हुन्छ ।’
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी