२०८१ कार्तिक १५, बिहिबार
महेन्द्रनगर:
भीमदत्त नगरपालिका–३ मा ह्युमपाइप मर्मत गर्ने विषयमा मंगलवार दिउँसो वडा सदस्य मिना कुँवर ठगुन्नालाई गालीगलौच गर्ने राप्रपा नेत्री लक्ष्मी मल्ललाई नगर उपप्रमुख (उपमेयर) निलम लेखकले बचाएपछि असन्तुष्टि देखिएको छ ।
जनप्रतिनिधि कुँवरलाई गालीगलौच गरिरहेकै बेला आएको प्रहरी टोलीले मल्ललाई नियन्त्रण लिएर लैजान लागेका बेला उपमेयर लेखकले उनलाई आफ्नो गाडीमा राखेर लगेकी थिइन् तर मल्लले कुँवरलाई गालीगलौच गरिरहँदा भने उनी रमिते बनेर हेरिरहेकी थिइन् ।
ह्युमपाइप अग्लो भागमा भएर पानी निकास नहुँदा जनप्रतिनिधिले स्थानीयको मागअनुसार ह्युमपाइपलाई सडकको सतहमा ल्याउन खोजेका थिए । जसमा मल्लले अवरोध गरिरहेकी थिइन् । वडाध्यक्ष गगन धामीले बोलाएपछि वडा सदस्य कुँवर समेत घटनास्थलमा पुगेकी थिइन् । त्यतिबेला कुँवरमाथि ढुंगा प्रहार भएको थियो ।
घटनास्थलमा आफूमाथि दुर्व्यवहार भइरहँदा उपमेयर लेखक र वडाध्यक्ष धामी रमिते बनेर हेरिरहेका तर मल्ललाई प्रहरीले लैजान खोज्दा आफ्नो गाडीमा राखेर लगिएकोप्रति वडा सदस्य कुँवरले असन्तुष्टि पोखेकी छन् । वडा सदस्य कुँवरमाथि सार्वजनिक स्थानमा दुर्व्यवहार हुँदा समेत वडाध्यक्ष धामीले सार्वजनिक वक्तव्य समेत जारी गरेका छैनन् ।
जनप्रतिनिधिको भूमिका निर्वाह गर्ने क्रममा भएको दुर्व्यवहारपछि आफूले वडा कार्यालय र नगरपालिकाबाट संरक्षण पाउन नसकेको वडा सदस्य कुँवरको गुनासो छ । वडाध्यक्ष धामीले नै बोलाएर आफू घटनास्थलमा आएको तर आफू पुगेपछि वडाध्यक्षलाई २–२ पटक बोलाउँदा पनि नआई पन्छिन खोजेको घटनाक्रम वडा सदस्य कुँवरले बताइन् । तेस्रोपटक आफूले झर्किएर फोन गरेपछि मात्रै वडाध्यक्ष धामी घटनास्थलमा आएका कुँवरले गुनासो गरिन् ।
स्थानीय शुभप्रभात टोलका सभापति राजेन्द्र थापाले ह्युमपाइप गलत ठाउँमा हुँदा डुवान भएको र त्यसलाई सार्न खोज्दा मल्लले विवाद गरेको बताए । घटनास्थलमा मल्लले ढुंगा हान्ने र गाली गर्ने अभद्र व्यवहार गरेको सभापति थापाले बताए । मल्लले आफ्नो निजी बाटो भएको भन्दै गालीगलौच गरेको उनले बताए । कुँवरमाथि गालीगलौच भइरहँदा जनप्रतिनिधिले रोक्नुपर्ने भए पनि उपमेयर र वडाध्यक्ष कसैले पनि नरोक्नु अनौठो भएको सभापति थापाले बताए । दिउँसो विवाद भएपछि रातिराति काम गर्दा लुकेर गरे जस्तो भएको उनको गुनासो छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी