२०८१ कार्तिक ३०, शुक्रबार
महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका–१० झलारीका गगनराज भट्ट र कलावति भट्टले सानै उमेरमा कुलतमा फसेका एक किशोरको उद्धार गरी आज सुधार गृहमा पठाएका छन् । व्यवसायी भट्ट दम्पतीले ती किशोरका परिवारको सहमतिमा सुधार गृहमा लाग्ने सबै खर्च व्यहोर्ने गरी आफ्नै गाडीमा राखेर त्यसतर्फ पठाएका हुन् । झलारीकै मुक्ति टोलका १३ वर्षीय किशोर सानै उमेरमा बजार क्षेत्रमा रहेका पसलबाट मादक पदार्थको चोरी गरि सेवन गर्ने कार्यमा संलग्न रहेका थिए । घर परिवारका सदस्यले किशोर कुलतमा फस्न थालेपछि घरमै बाँधेर राख्ने गरेका छन् । बाँधिएको साङ्लो सहित बजार क्षेत्रमा पुगेर किशोरले चोरी गर्न छाडेका थिएनन् ।
“आर्थिक अवस्था कमजोर हुँदा उपचार गराउन सकेका थिएनौँ”, किशोरकी आमा यसोदा रानाले भनिन्, “घरको एक्लो छोरो सानै उमेरमै कुलतमा फसेपछि निकै चिन्तित थियौँ । छोरालाई सुधार गरिदिने वाचाका साथ भट्ट दम्पतिले सुधार गृहमा पठाएकोमा खुसी छौँ ।” कुलतमा फस्न थालेपछि छोरालाई सुधार गर्न घरमै बाँध्ने कार्य गरेपनि डोरी, साङ्लो सहित बजार क्षेत्रमै पुग्न थालेको उल्लेख गर्दै उनले भगवान बनेर भट्ट दम्पतीले घरमै पुगेर सुधार गर्ने प्रस्ताव गर्दा नर्कान नसकिएको बताइन् ।
“भट्ट दम्पती हाम्रा लागि भगवान बनेर आए”, उनले भनिन्, “छोरालाई सुधार गृहमा लाग्ने सबै खर्च व्यहोर्ने बचनवद्धता गरी सुधार गृहमा आफनै गाडीमा राखेर पठाएका छन् । छोरो सुधार हुनेमा आशाबादी छौं । खुसीको सीमा छैन् ।”
“एक जना किशोर कुलतमा लाग्दा सयौं बालबालिका प्रभावित हुन सक्छन”, व्यवसायी गगनराज भट्टले भने, “यसतर्फ सवै अभिभावकले सचेत हुनु जरुरी छ । समाजमा आर्थिक रुपमा विपन्नता भएका व्यक्तिहरुको सहयोगका लागि सबैले अगाडी आउनुपर्छ । यही नै मानवीय गुण हो।” कमाएको केही पैसा मानवीय सहयोगका रुपमा खर्च गर्न पाउँदा गर्वको अनुभूति भएको उनले बताए। भट्ट दम्पतिको झलारी बजारमा होटल, सुनचाँदी व्यवसायसँगै बङ्गुर फार्म पनि सञ्चालनमा छन् । रासस
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी