२०८१ आश्विन २१, सोमबार
काठमाण्डौ । अष्ट्रेलियाले आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधि जितेको छ । दुबईमा आइतबार राति भएको फाइनलमा न्यूजिल्याण्डलाई ८ विकेटले हराउँदै अष्ट्रेलियाले उपाधि उचालेको हो । यस जितसँगै अष्ट्रेलियाले पहिलोपटक टी–२० विश्वकपको उपाधि जित्दै इतिहास रचेको छ । यसअघि अष्ट्रेलिया सन् २०१० को टी–२० विश्वकपको फाइनलमा पुगेको थियो । तर, फाइनलमा इंग्ल्याण्डसँग ७ विकेटले पराजित भएको थियो ।न्यूजिल्याण्डले दिएको १ सय ७३ रनको लक्ष्य अष्ट्रेलियाले १८ दशमलव ५ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो ।
उसका लागि डेभिड वार्नर र मिचेल मार्शले अर्धशतक पारी खेले । वार्नरले ३८ बलमा ४ चौका र ३ छक्कासहित ५३ रन बनाउँदा मार्शल ५० बलमा ६ चौका र ४ छक्काको मद्दतमा नटआउट ७७ रनको योगदान दिए । यस्तै, कप्तान आरोन फिन्च ५ रनमा आउट हुँदा ग्लेन म्याक्सवेलले अविजित २८ रन जोडे ।
बलिङमा ट्रेन्ट बोल्टले २ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो । उसका लागि कप्तान केन विलियम्सन उत्कृष्ट ब्याटिङ गरे । उनले ४८ बलमा १० चौका र ३ छक्कासहित ८५ रनको योगदान दिए ।
उनले ३२ बलमा अर्धशतक पूरा गरेका थिए। यो टी–२० विश्वकप फाइनलकै सर्वाधिक छिटो अर्धशतक हो । यसअघि सन् २०१४ मा कुमार संगाकारा र सन् २०१६ मा जो रुटले फाइनलमा समान ३३–३३ बलमा अर्धशतक बनाएका थिए । यस्तै, न्यूजिल्याण्डका मार्टिन गुप्टिलले २८, ग्लेन फिलिप्सले १८, डारिल मिचेलले ११ रन बनाउँदा जिमी नीशम १३ र टिम सेफर्ट ८ रनमा नटआउट रहे । अष्ट्रेलियाका लागि जोश हेजलवुडले शानदार बलिङ गरे। उनले ४ ओभरमा मात्र १६ रन खर्चिएर महत्वपूर्ण ३ विकेट लिए। उनले मिचेल, विलियम्सन र फिलिप्सको विकेट लिएका हुन् ।
यस्तै, एडम जाम्पाले १ विकेट लिँदा मिचेल स्टार्कले निकै महँगा साबित भए। उनले ४ ओभरमा बिनाविकेट ६० रन खर्चिए । प्रतियोगिताको पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डले इंग्ल्याण्डलाई ५ विकेटले हराउँदै फाइनमा स्थान बनाएको थियो भने दोस्रो सेमिफाइनलमा अष्ट्रेलियाले पाकिस्तानलाई ५ विकेटले नै हराएर फाइनलमा स्थान पक्का गरेको थियो ।
पहिलोपटक टी–२० विश्वकपको फाइनलमा पुगेको न्यूजिल्याण्ड उपविजेतामै सीमित बनेको छ । विजेता टिम अष्ट्रेलियाले १.६ मिलियन अर्थात् १६ लाख अमेरिकी डलर पुरस्कार पाएको छ । उपविजेता न्यूजिल्याण्डले ८ लाख अमेरिकी डलर प्राप्त गरेको छ । यसैगरी सेमिफाइनल पुग्ने दुई टोली पाकिस्तान र इंग्ल्याण्डले समान ४–४ लाख अमेरिकी डलर पाए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी