२०८१ आश्विन २१, सोमबार
डोटी:
असोज अन्तिम साता परेको बेमौसमी वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो गएर बन्द भएको जिल्लाको कपल्लेकी–नापानी हुँदै गड्सेरा जोड्ने सडक अहिलेसम्म पनि नखुल्दा स्थानीय बासिन्दालाई समस्या भएको छ । असोज ३० गतेदेखि परेको अविरल वर्षासँगै यस सडकखण्डका विभिन्न ठाउँमा पहिरो आएर यातायात सेवा बन्द भएको हो । सडक अझै नखुल्दा दैनिक उपभोग्य वस्तु किन्न र आफूले उत्पादन गरेका वस्तु बजारसम्म लैजान समेत कठिन भएको जोरायल गाउँपालिका–५ फलेदा गाउँका जोगी सार्कीले बताए । बन्द सडक खुलाउनका लागि पटक–पटक शिखर नगरपालिका, जोरायल गाउँपालिका तथा डिभिजन सडक कार्यालयमा आग्रह गर्दा समेत कुनै पहल नभएकाले स्थानीय बासिन्दा आक्रोशित भएको ऐरीगाउँका रामबहादुर ऐरले बताए । उनले भने, “कपल्लेकी–नापानी हुँदै गड्सेरा जोड्ने सडक बन्द भएको एक महिना भइसक्यो, खोल्नका लागि कुनै पहल भएको छैन, मान्छे बिरामी पर्दासमेत अस्पताल लैजान सक्ने अवस्था छैन् ।” सडक नखुल्दा गाउँमा उत्पादित साग, तरकारी तथा फलफूल बजारसम्म लैजान नपाउँदा बारीमै कुहिन थालेको अर्का स्थानीयवासी शेरबहादुर चोखालको गुनासो थियो । यसैगरी सडक बन्द भएपछि गाउँमा गाडी नजाँदा दैनिक उपभोग्य वस्तुको मूल्यसमेत आकाशिएको उपभोक्ताले बताए। गाउँमा गाडी नआउने र एक दिनको पैदल दूरीबाट सामान बोकेर ल्याउनुपरेका कारण दैनिक उपभोग्य वस्तु महङ्गिएको जोरायल गाउँपालिका–५का व्यापारी उद्धबबहादुर देउवाले बताए । सडक बन्द हुँदा सदरमुकाम आउजाउ गर्न घण्टौँ टाढा पर्ने कैलालीको शिवनगर तथा डोटीको भीमदत्त राजमार्गको बाटो प्रयोग गर्न बाध्य भएको अर्का स्थानीयवासी धर्मसिंह खडायतले जानकारी दिए । उता डिभिजन सडक कार्यालयले दिपायल–नापानी हुँदै गड्सेरा जोड्ने सडक शिखर नगरपालिका तथा जोरायल गाउँपालिका मातहत भएका कारण त्यो सडक खोल्न नगरपालिका र गाउँपालिकाले नै पहल गर्नुपर्ने बताएको छ। वर्षाका कारण बिग्रिएको सडक खुलाउनका लागि डोजर भइरहेको जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले बताए । उनले भने, “जोरायल क्षेत्रबाट सडक खुलाउने काम भइरहेको छ, ठाउँ–ठाउँमा ठूल्ठूला पहिरा गएकाले केही समस्या भएको हो, पहिराले बन्द भएका सडक चाँडै खोल्छौँ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी