२०८१ मंसिर २९, शनिबार
बैतडी :
जिल्लाको दोगडाकेदार गाउँपालिका–३ मा रहेको श्रीकोट बहुमुखी क्याम्पसमा सुविधा सम्पन्न छात्रावास भवन निर्माण गरिएको छ। उच्च शिक्षा अध्ययनका लागि आउने विद्यार्थीका लागि बसोबासमा सहजता ल्याउन छात्रावास निर्माण गरिएको हो । सङ्घीय सरकारको समपूरक कोष र दोगडाकेदार गाउँपालिकाको साझेदारीमा रु तीन करोड चार लाखमा उक्त छात्रावास निर्माण गरिएको हो। सत्र कोठा, दुई हल, चमेनागृह र घेरापर्खाल सहित दुई तले सुविधा सम्पन्न छात्रवास भवन निर्माण गरिएको श्रीकोट बहुमुखी क्याम्पसका प्रमुख दानबहादुर कार्कीले बताए । उच्च शिक्षा हासिलका लागि आउने विद्यार्थीलाई छात्रावास बनिसकेपछि टाढाबाट बस्नको लागि सहज भएको क्याम्पस प्रमुख कार्कीले बताए। उनले भने, “छात्र र छात्रा दुवै बस्न मिल्ने गरेर व्यवस्था गरेका छौँ ।” आफ्नो पहलमा छात्रावास निर्माण गर्न सफल भएको बताउँदै प्रतिनिधिसभा सदस्य दामोदर भण्डारीले शैक्षिक क्षेत्रको विकास र गुणस्तर सुधारमा जोड दिनुपर्ने बताए । ग्रामीण क्षेत्रमा बनेको छात्रावासले टाढाबाट यहाँ उच्च शिक्षा हासिल गर्न आउने विद्यार्थीलाई सहज हुनेछ । उनले भने, “दुर्गममा सञ्चालनमा रहेको यस क्याम्पसलाई सुदूरपश्चिम प्रदेशकै नमूना शैक्षिक केन्द्रका रूपमा विकास गर्न जरुरी रहेको छ ।” दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्कीले शिक्षा क्षेत्रको विकास आफ्नो पहिलो प्राथमिकता रहेको बताए । उनले भने, “शैक्षिक क्षेत्रको विकास र गुणस्तर सुधार गर्ने उद्देश्य अनुरूप गाउँपालिकाको पहिलो प्राथमिकतामा शिक्षा रहेको छ ।” त्रिभुवन विश्वविद्यालयको आङ्गीक क्याम्पसका रूपमा रहेको श्रीकोट बहुमुखी क्याम्पस विसं २०६९ मा स्थापना भएको हो। हाल यहाँ स्नातकोत्तरसम्मको पढाइ हुने गर्दछ । यस क्याम्पसमा अहिले बैतडीका विभिन्न स्थानका २५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी