२०८१ भाद्र २८, शुक्रबार
दार्चुला । पत्नीबाट छुट्टिएर बस्न चाहेको भन्दै दार्चुलामा सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराउने पुरुषको सङ्ख्या बढ्दै गएको छ । जिल्ला अदालतमा सम्बन्ध विच्छेद गराउन भन्दै चालु आर्थिक वर्षको चार महिना नपुग्दै ६ पुरुषले सम्बन्ध विच्छेदका लागि निवेदन दर्ता गराएका छन् ।
चालु आवमा गत आवको जिम्मेवारी सरिआएका सात गरी कूल १३ पुरुषले सम्बन्धविच्छेदका लागि अदालतमा मुद्दा दायर गरेको जिल्ला अदालतका श्रेस्तेदार कोशलेश्वर ज्ञवालीले जानकारी दिए । विसं २०७४ भदौ १ गतेदेखि लागू भएको नयाँ मुलुकी देवानी संहिता ऐन कार्यान्वयनमा आएपछि जिल्लामा हरेक वर्ष महिलाकै सङ्ख्यामा पुरुषले पनि सम्बन्धविच्छेदका लागि मुद्दा दायर गर्न थालेका छन् । पछिल्लो समय जिल्लामा सम्बन्धविच्छेदका घटना निकै बढेका छन् । पतिले पत्नीको दोष देखाएर र पत्नीले पतीको दोष देखाएर अलग भएर बस्न चाहेको भन्दै सम्बन्ध विच्छेद गराउन चाहनेको सङ्ख्यामा बढ्दै गएको अदालतको तथ्याङ्कले देखाउँछ ।
गत वर्ष ३० सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए । मुद्दा दर्ता गराउनेमा १८ महिला थिए । गत वर्ष दर्ता भएका सात मुद्दाको मात्र फैसला भएको ज्ञवालीले बताए । चालु आवमा हालसम्म एउटा मुद्दाको फैसला भएको छ । आव २०७५÷७६ मा ४३ सम्बन्ध विच्छेदका मुद्दा दायर भएकामा १५ पुरुषले आफू पीडित भएको भन्दै मुद्दा दायर गरेका थिए ।
आफूलाई बेवास्ता गरेको, खान लगाउन नदिएको, अनावश्यक शङ्का गरेकोजस्ता कारण देखाएर पत्नीले पतिसँग सम्बन्ध विच्छेद गराउन चाहेको भन्दै मुद्दा दर्ता गर्न थालेका श्रेस्तेदार ज्ञवाली बताउछन् । पुरुषले पनि विभिन्न कारण देखाएर पत्नीसँग छुट्टिन चाहेको भन्दै अदालत धाउने गरेका छन् । बढ्दो सामाजिक सञ्जालको प्रयोग, श्रीमान् विदेशमा हुनु, पारिवारिक कलह, शङ्काउपशङ्का, सानै उमेरमा विवाह गर्ने, गाउँ छाडेर बजारमा डेरा गरी बस्ने लगायत कारण पती पत्नीबीच कलह बढ्ने गरेको पाइएको छ । महिलाको तुलनामा पुरुषले सम्बन्धविच्छेदका लागि बढी मुद्दा दिने गरेको तथ्याङ्क छ । “छोरा नभएको कारण देखाएर पनि सम्बन्धविच्छेद गर्ने गरेका छन्”, ज्ञवालीले भने । रासस
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी