२०८१ आश्विन २, बुधबार
महेन्द्रनगर :
बैतडीमा स्क्रब टाइफसको संक्रमण बढदै गईरहेको पाईएको छ । त्यँहाका स्वास्थ्य संस्था र अस्पतालमा उपचारका लागि आउने बिरामीमा स्क्रब टाइफस देखिन थालेपछि जोखिम बढ्दै गएको हो । जिल्ला अस्पतालमा उपचारका लागि आउने बिरामीमा पनि स्क्रब टाइफस देखिएको अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए । विगतका वर्षमा फाट्टफुट्ट मात्र देखिए पनि यस वर्ष स्क्रब टाइफसका बिरामीको सङ्ख्या बढेको छ । उनले भने, “वर्षायामको सुरुबाटै बिरामीको सङ्ख्या बढेको छ, साउनदेखि हालसम्म २२ जनामा स्क्रब टाइफस पुष्टि भइसकेको छ ।” जिल्लाका सबै स्थानीय तहबाट आएका बिरामीमा स्क्रब टाइफस देखिने गरेको छ । त्यसमध्ये पनि सदरमुकाम स्थित दशरथ चन्द नगरपालिका र दोगडाकेदार गाउँपालिकाबाट उपचारका लागि जिल्ला अस्पताल आएका बिरामीमा बढी यो रोग देखिएको सूचना अधिकारी पन्तले बताए । जिल्ला अस्पतालमा बढी जसो भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् । अस्पतालमा हाल दैनिक १ सय बिरामी उपचारका लागि आउने गरेकामा ५० जना भाइरल ज्वरोका आउने गरेका जिल्ला अस्पतालका प्रमुख डा वसन्तराज जोशीले बताए । पछिल्लो समय किटजन्य रोगको महामारी पहाडी जिल्लामा फैलिँदै गएको तथ्याङ्कमा देखिन्छ । स्क्रब टाइफस लागेमा बिरामीलाई समान्यतय ज्वरो आउने, मांशपेशी दुख्ने, अत्यधिक टाउको दुख्ने, पसिना आउने, खोकी लाग्नेजस्ता लक्षण देखापर्ने अस्पतालका प्रमुख डा.जोशीले बताए । स्क्रब टाइफसको प्रमुख लक्षण छालामा घाउ देखिने भए पनि सो अस्पतालमा बढी जसो टाउको दुख्ने, आँखाको नानी दुख्ने, सुक्खा खोकी लाग्ने, ज्वरो आउने देखा पदैछन् । व्यक्तिगत स्वास्थ्यमा ध्यान नदिदाँ यो रोगको सङ्क्रमण बढ्ने भएकाले पूरै शरीर ढाक्ने गरी लुगा लगाउने, खुला ठाउँमा शौच नगर्ने र शंका लागेमा नजिकको स्वास्थ्य संस्थामा गई चिकित्सकसँग परामर्श लिन उनले सुझाव दिए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी