२०८१ भाद्र २८, शुक्रबार
महेन्द्रनगर ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रीमण्डललाई पूर्णता दिन तयारी थालेका छन् । रिक्त आर्थिक मामिला तथा योजना मन्त्रालयमा पदपूर्ति गर्न अन्तिम तयारी भइरहेको स्रोतले जनाएको छ ।
नेकपा एमाले विभाजन पछि सरकारमा सहभागी आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश शाह र राज्यमन्त्री अर्चना गहतराजले भदौँ २२ गते राजिनामा दिएका थिए । त्यस पछि रिक्त आर्थिक मामिला तथा योजना मन्त्रालयमा बुधवार मन्त्री नियुक्त गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।
‘आर्थिक मन्त्रालय धेरै समय रिक्त राख्नु हुदैन त्यसैले चाँडो भन्दा चाँडो मन्त्री नियुक्त गर्ने भनेर छलफल भइरहेको छ ।’ स्रोतले दैनिक सञ्चारसंग भन्यो, ‘सम्भवतः आज मन्त्री नियुक्त गरेर सपथ ग्रहण हुन्छ ।’
आर्थिक मामिला तथा योजनामन्त्रीमा तारालामा तामाङ्ग नियुक्त हुने पक्कापक्की भएको उक्त स्रोतको दाबी छ । ‘केन्द्रबाट पनि मन्त्रीका लागि उहाँ (तारालामा) कै नाम अगाडि सारिएको छ ।’ स्रोतले भन्यो, ‘त्यसैले उहाँ नै मन्त्री बन्ने पक्का छ ।’
तामाङ्ग कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ (क) बाट विजयी भएका थिए । तत्कालीन नेकपा एमालेमा सुदूरपश्चिम प्रदेशको प्रमुख सचेतकको जिम्मेवारी समेत उनले सम्हालिसकेका थिए ।
माधव नेपाल निकट उनी एमाले कञ्चनपुरको अध्यक्ष पनि थिए । नेकपा एमाले विभाजनपछि तामाङ्गले एकीकृत समाजवादी रोजेका हुन् ।
एमालेका प्रकाश रावल र अर्चना गहतराजले मन्त्रीबाट राजिनामा दिए पछि रिक्त आर्थिक मामिला तथा योजना मन्त्रालय एकीकृत समाजवादीको भागमा परेको छ । तामाङ्गलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मा दिने बारेमा मंगलवार बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकमा पनि छलफल भएको थियो ।
एकीकृत समाजवादीको संसदीय दलको नेतामा भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी चयन भएका छन् । तामाङ्ग पनि संसदीय दलको नेताको दौडमा थिए । यद्यपी अन्तिममा आएर सोडारीलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरिएको हो ।
सुदूरपश्चिममा मुख्यमन्त्री सहित ९ मन्त्री छन् । एकीकृत समाजवादीकी पूर्णा जोशीले आन्तरिक मामिला तथा कानून मन्त्रालय, लाल बहादुर खड्काले सामाजिक विकास मन्त्रालय, दीर्घ सोडारीले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
यस्तै एकीकृत समाजवादीका दुई जना राज्यमन्त्री (मना कुमारी साउँद र चुनु कुमारी चौधरी) पनि प्रदेश सरकारमा छन् । उता भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा माओवादी केन्द्रकी विनिता देवी चौधरी, राज्यमन्त्री मान बहादुर सुनार र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय मान बहादुर धामीले पाएका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी