२०८१ भाद्र २८, शुक्रबार
दार्चुला–तिङ्करबाट त्रिदेशीय सीमा जोड्ने गरी निर्माण सुरु गरिएको खलङ्गा–तिङ्कर सडकमा सेनाले काम सुरु गर्ने तयारी थालेको छ । सतासी किलोमिटर सडक निर्माणको जिम्मा पाएको नेपाली सेनाले नेपाल–भारत–चीनको सीमा जोड्ने सडक निर्माणको काम सुरु गर्दैछ ।
नेपाली सेनाले सो सडक निर्माणको क्रममा बनाएको कार्ययोजना अनुसार नेपाली सेना निर्माणस्थलमा खटिएको छ । निर्माण सामग्री ढुवानीमा केही ढिलाइ भएको हुँदा केही दिनभित्रै तीव्र गतिमा निर्माणको काम अघि बढ्ने नेपाली सेनाका सहायक रथी एवं सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले बताए ।
अहिले निर्माण स्थलमा नेपाली सेना खटिसकेको जनाइएको छ । केही दिनअघि मात्रै नेपाली सेनाको हेलिकप्टरले निर्माण सामग्री सडक निर्माणस्थलमा पु¥याएको छ । मालका स्थानीय नरेन्द्रसिंह धामीका अनुसार अहिले १५ देखी २० जना सैनिकले मालको ठण्डा ओडारबाट निर्माणकार्य सुरु गर्दैछन् । सडक निर्माणमा प्रयोग हुने सामग्री मालको कोठेधार, सेकनाडी मालमा हेलिकप्टर मार्फत छाडिएको छ । स्थानीयवासीका अनुसार आगामी असोज १ गतेदेखि स्थानीय श्रमिक पनि नेपाली सेनासँगै काममा लगाउने तयारी गरिएको छ ।
विसं २०६५ मा स्वीकृत भएको सो सडक निर्माणले हालसम्म गति लिन सकेको छैन। महाकाली लोकमार्ग, महाकाली करिडोर अन्तर्गत पर्ने उक्त सडक निर्माण सुरु भएको १३ वर्ष भइसकेको छ । यो अवधिमा ४३ किलोमिटर हाराहारीमा सडक निर्माणको ट्र्याक खुलाइएको छ । सदरमुकाम खलङ्गादेखि १३० किलोमिटर लम्बाइको रहेको सो सडक खण्डको ४३ किलोमिटर सडक विभाग आफैले बनाउँदै छ भने बाँकी ८७ किलोमिटर नेपाली सेनाले बनाउने भएको हो ।
यो सडक मार्ग हुँदै नाका खोले नेपाल, भारत र चीनसँगको व्यापारमा सहज हुने बताइएको छ। दार्चुला–तिङ्कर सडक भएर कैलाश मानसरोवर जाने धार्मिक यात्रुलाई पनि सहज हुने छ । चीनसँगको सीधा व्यापार गर्न सहज हुने दार्चुला उद्योग वाणिज्य सङ्घका अध्यक्ष मङ्गलसिंह ठगुन्ना बताउछन् । “विगतमा यो क्षेत्रमा घोरेटो बाटो भएर चीनबाट समान आयात हुन्थ्यो”, उनले भने, “अहिले घोरेटो बाटो नै अवरुद्व भएपछि चीनसँगको व्यापार घटेको छ ।”
व्यासका बासिन्दा बिमल बोहराका अनुसार चीनले अहिले नेपाल–चीन सीमा रहेको पिलर नं १ नजिकै चीनले आफ्नो भूभागमा सडक निर्माण गरेको छ। नेपाल सरकारले पनि समयमै तिङ्करसम्म सडक पु¥याएको यहाँको व्यापार फस्टाउने छ । चालू आवदेखि सो खण्डमा तीव्रताका साथ काम अघि बढ्ने सैनिक प्रवक्ता पौडेल बताउँछन् । सो सडकको करिब ३० किलोमिटर क्षेत्र उत्तराखण्डसँगको सिमाना नजिकै छ । सेनाले सडक निर्मााणका लागि चाहिने विष्फोटक पदार्थ, कम्प्रेसरलगायतका समान ढुवानी गर्दैछ । “आशा छ, अब काम तीव्र रुपमा अघि बढ्छ”, पौडेलले भने ।
महाकाली लोकमार्गअन्तर्गत सुदूरपश्चिमको कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुरा, बैतडी हुँदै दार्चुलाको तिङ्कर जोडिँदैछ । यो सडक मार्ग हुँदै नाका खोले नेपाल, भारत र चीनसँगको व्यापारमा सहज हुने छ । सरकारले गत २०७७ वैशाख २४ गते मन्त्रिपरिषद्को निणर्यअनुसार यो सडकको काम नेपाली सेनामार्फत गराउने निणर्य गरेको हो ।
सडक निर्माणका लागि सेनाले सुन्सेरा र दुम्लिङमा गरी दुई क्याम्प राखेको छ । सडक निर्माणका लागि सेनाको विकास निर्माण निर्देशनालयको सैनिक टोली खटिएको छ । रासस
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी