२०८१ आश्विन २, बुधबार
महेन्द्रनगर ।
कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा एक युवकमाथि निर्घात कुटपिट भएको छ । बेलडाँडी गाउँपालिका–२ सिंहपाल टोलका १८ वर्षीय सन्दीप थापा (सागर) माथि सामुहिक आक्रमण हुँदा घाइते भएका छन् ।
घरबाट ललाइफकाइ लगेर गाउँमै बाँधेर १०/१२ जनाको समूहले निर्घात कुटपिट गरेको उनका बाजे भीम बहादुर थापाले बताए । उनका अनुसार साउन १४ गते राती सन्दीपलाई सोही ठाउँका मुकुन्द जोशी लगायतको समूहले बाँधेर निर्घात कुटपिट गरेका छन् ।
‘टाउकोमा कुखुरी प्रहार गरेका छन् । शरीर भरी निलडाम, घाउ छन् । सन्दीपको अवस्था नाजुक छ ।’ भीम बहादुर थापाले भने, ‘टाउकोमा गम्भिर चोट लागको छ । शरीर भर आक्रमण भएकाले शरीर नै काम नगर्ने भएको छ ।’
सन्दीपको बेलडाँडी स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभए पछि राती नै धनगढी रेफर गरिएको थियो । धनगढीको माया मेट्रो अस्पतालमा उपचार पछि तीन दिन पछि उनी होसमा आएका थिए ।
‘अझै पनि राम्रोसंग बोल्न सक्दैनन् । सुतेको अवस्थामा बरबराउछन् । बाँधेर कुटेर मर्यो भनेर छाडेका रहेछन् ।’ उनले भने, ‘अहिले नोभा अस्पतालमा उपचार भइरहेको छ ।’
आफूसंगको रिसिबीका कारण नातीमाथी आक्रमण गरेको हुन सक्ने उनको दाबी छ । भीम बहादुर थापा शुक्लाफाँटा मध्यवर्ती क्षेत्र कालिकिच उपभोक्ता समितिका अध्यक्ष हुन।
सन्दीपलाई कुट्ने समूहका मुकुन्द गत वर्ष काठ तस्करीमा पक्राउ परेका थिए । काठ तस्करी गर्दा समातेको रिसले नातीमा माथि सुनियोजित ढङ्गले आक्रमण भएको उनको दाबी छ । ‘भीम बहादुरको नाती होइनस् भन्दै खुकुरी, पेचकस, रड, भञ्चरो लगायत हतियारले आक्रमण गरेको नातीले भनेका छन् ।’ उनले भने ।
सन्दीप काठमाडौँमा कक्षा १२ मा अध्ययन गर्छन । कोरोनाको दोस्रो लहर पछि भएको लकडाउन पनि उनी घर फर्किएका थिए ।
ईलाका प्रहरी कार्यालय बेलडाँडीले घटनाको अनुसन्धानमा लापरबाही गरेको सन्दीपको परिवारको आरोप छ । ईलाका प्रहरी कार्यालय बेलडाँडीका प्रमुख प्रहरी निरीक्षक रविन्द्र कठायतले घटना गाउँमै मिलाएर लुकाउन खोजेको परिवारको गुनासो छ ।
‘सहि तरिकाले घटनास्थलको मुचुल्का नै प्रहरीले उठाएको छैन । अनुसन्धानमा लापरबाही गरेको छ ।’ सन्दीपका बाजे भीम बहादुरले भने, ‘सुरुमा प्रहरीले मुद्दा नै लिन मानेन । गाउँमै छलफल गरेर घटना मिलाउन खोज्यो प्रहरीले ।’
आफूहरुले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराउन खोज्दा दर्ता नगरेको तथा दुई दिनसम्म आरोपीलाई नियन्त्रणमा नलिएको आरोप छ ।
‘मुद्दा लिदैन जहाँ जानु छ गए हुन्छ भनेर हप्काएर पठाए । घटनाको सत्य, तथ्य छानविन नगरी आक्रमण गर्ने समूहको पक्षपोषण गरेर प्रहरी निरीक्षकले अभिव्यक्ति दिइरहेका थिए ।’ उनले भने, ‘घटनाको सत्य, तथ्य छानविन गरेर दोषिलाई कानूनी दायरामा ल्याउनु पर्छ ।’
स्थानीय, जनप्रतिनिधिले दुई दिन लगातार दबाब दिए पछि प्रहरी मुद्दा दायर गर्न राजी भएको थियो । स्थानीयले दुई दिन ईलाका प्रहरी कार्यालय बेलडाँडी घेराउ पनि गरेका थिए ।
सन्दीपको आमा महेश्वरी देवी थापाले बेलडाँडी गाउँपालिका–२ का मुकुन्द जोशी, विरेन्द्र कार्की (प्रज्वल), किसन मडै, लोकेश भण्डारी, योगेश साउँद, दीपक शाही लगायतको नाममा ज्यान मार्ने उद्योगको मुद्दा दिएकी छन् ।
प्रहरी निरीक्षक कठायतले आफूहरुको मुद्दा दर्ता गरे पछि आक्रमण गर्ने समूहलाई पनि मुद्दा हाल्न लगाउन भूमिका खेलेको सन्दीपको परिवारको आरोप छ ।
ईलाका प्रहरी कार्यालय बेलडाँडीका अनुसार दुवैतर्फबाट ज्यान मार्ने उद्योग अन्तर्गतको मुद्दा दर्ता भएकाले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीका अनुसार घाइते सन्दीपको तर्फबाट गएको मुद्दामा ६ जना र अर्को पट्टीबाट आएको मुद्दामा २ जना पक्राउ परेका छन् ।
हतियार सहित घरमा आएको १०/१२ जनाको समूहले आक्रमण गर्न खोजेको भनेर अर्को पक्षले पनि ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरेको प्रहरी निरीक्षक कठायत बताउँछन् ।
‘हतियार सहित आएका १०/१२ जनाको समूहले आक्रमण गर्न खोजेको र उनीहरुमध्ये एक जनालाई नियन्त्रणमा लिएर बाँधेर राखेको र अन्य मानिस भागेको भनेका छन् ।’ उनले भने, ‘अहिले दुवै पक्षका आरोपी हाम्रो नियन्त्रणमा छन्, उनीहरुमाथी अनुसन्धान भइरहेको छ ।’
सन्दीपको परिवारले आफूमाथि लगाएका आरोप निराधार रहेको उनको दाबी छ । ‘छिमेकमै मुद्दा मामिला गर्दा रिसिबी हुने भएकाले केही घटना समाजमै मिलाउन सकिने भएकाले छलफल गरेर मिलाउला भनेर मुद्दा दर्ता नगरेको भनेको थिएँ ।’ उनले भने, ‘ज्यान मार्ने उद्योगको मुद्दा ६ महिनाभित्र दिन सकिने हुनाले तत्काल यसमा नगइ केही दिन घाइतेको अवस्था हेर्ने र पछी जानै पर्ने भए मुद्दामा जानु होला भनेको थिएँ । यही कुरालाई उहाँहरुले गलत अर्थमा बुझिदिनु भयो ।’
घटनालाई राजनीतिकरण गर्ने प्रयास भएको उनको दाबी छ । ‘आरोपीहरुलाई नियन्त्रणमा लिएका छौँ । उनीहरुमाथि सुक्ष्म अनुसन्धान भइरहेको छ ।’ उनले भने, ‘अनुसन्धानकै क्रममा रहेकाले धेरै कुरा भन्न मिल्दैन ।’
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी