२०८१ कार्तिक ३०, शुक्रबार
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गाना र नेपाल स्टक एक्सचेन्ज(नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदको जागिर धरापमा पर्ने भएको छ। अर्थ मन्त्रालयले उनीहरूले गरेको शेयर कारोबारको सम्पूर्ण विवरण माग गरेपछि उनीहरूको जागिर धरापमा पर्दै गएको हो।
अर्थ मन्त्रालयले बिहीबार नेप्सेलाई एक पत्र लेख्दै तीन दिन भित्र ओटिसिको कारोबार विवरण पठाउन भनेको छ। उसले सर्वोत्तम सिमेन्टले शेयर कारोबारको लागि कहिले निवेदन दिएको र कहिले कारोबार सम्पन्न भएको सबै विवरण पठाउन अर्थले काटेको पत्रमा भनिएको छ। अर्थले काटेको पत्रमा उक्त कम्पनीको शेयर कारोबार विवरण तीन भित्र बुझाइ सक्नु पर्ने उल्लेख छ।
पछिल्लो समय बुक बिल्डिङ विधिबाट शेयर निष्कासनको प्रक्रियामा रहेको कम्पनीको शेयर नियामक निकायदेखि बिक्री प्रबन्धकसम्मले मिलेमतो गरी खरिद गरेको हिमाल खबर पत्रिकाले खुलासा गरेको थियो। उक्त खुलासा पछि मन्त्रालयले धितोपत्र बोर्ड र नेप्सेसँग यस अघि नै सञ्चार माध्यममा आएका विषयको बारेमा तीन दिन भित्र स्पष्टीकरण माग गरेको थियो। दुवै निकायले शेयर खरिदको विषयमा उक्त कम्पनी सूचिकृत नरहेको र संस्थापक शेयर खरिद गर्न कानुनले समेत रोक नलगाएको भन्दै शेयर खरिद बिक्रीमा कुनै अनियमितता नभएको दलील सहितको स्पष्टीकरण दिएका थिए।
बोर्ड अध्यक्षले दिएको स्पष्टीकरणमा बोर्डका उच्च स्तरका कर्मचारीले समेत उक्त स्पष्टीकरणमा हस्ताक्षर गरेका छन् भने नेप्सेका प्रमुख कार्यकारी अधिकृतले दिएको स्पष्टीकरणमा भने कर्मचारी मौन बसेका छन्।
बोर्ड अध्यक्षले गरेको शेयर कारोबारमा नैतिक प्रश्न उठ्दै गर्दा बोर्डका उच्च स्तरका कर्मचारी समेत बोर्ड अध्यक्षको नैतिक पतन हुने कार्यमा सहयोगी भूमिकामा देखिएका छन्। सबैजसो उच्च स्तरका कर्मचारीले उनले गरेको कार्यलाई हस्ताक्षर नै गरेर गैरकानुनी नभएको भन्दै बचाउ गरेका छन्। बोर्डका कर्मचारीले यस घटनामा राजनीति घुसाउने काम समेत गरेका छन्। कम्युनिस्ट निकट कर्मचारीहरूले बोर्ड अध्यक्षको पक्ष पोषण गर्न थालेका छन् भने कङ्ग्रेस निकट कर्मचारीले उनलाई कारबाही हुनु पर्ने माग गर्दै मन्त्रालयमा ज्ञापन पत्र नै बुझाएका छन्।
कर्मचारीहरूले सत्यतथ्य सहित छानबिन गरी कारबाही गर्न अनुरोध गरेपछि अर्थ मन्त्रालयले दुवै निकायका प्रमुखले कारोबार गरेको हो या होइन भनी किटान गर्न भन्दै सम्पूर्ण कारोबार विवरण नै मगाएको हाे ।
दुवै निकायका प्रमुखले शेयर कारोबार गरेको हो भनी स्वीकार गरिसकेका छन्। तर उनीहरूले गरेको कारोबार भने गैर कानुनी नभएको दाबी गर्दै आएका छन्। तर,दुवै निकायका प्रमुखले नैतिक पतन हुने काम गरेकाेले नियुक्तिमै प्रश्न उठेपछि सरकार दुबैलाई राखी राख्ने वा हटाउने भन्ने विषयमा निर्क्योलमा पुगिसकेको छैन। यस भन्दा अघि उनीहरूले कारोबार गरे नगरेको यकिन गर्न अर्थले सबै विवरण मगाएको छ ।
सुरुमा श्रावण १२ गते हिमाल खबर पत्रिका मार्फत बुक बिल्डिङमा जान लागेको कम्पनीले बोर्ड अध्यक्षकी छोरी,नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदकी श्रीमती र बिक्री प्रबन्धकसँग सरोकार राख्ने व्यक्ति लगायतका व्यक्तिरुलाइ शेयर निष्कासन गर्नु पूर्व नै शेयर दिएको भन्ने खबर सार्वजनिक भएको थियो। सोही विषयमा मन्त्रालयले छानबिन अघि बढाएको हो। मेरो लगानी बाट
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी